अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डोप्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गरेका छन्।
‘आज मेरो असल साथी मारिस पेनेसँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले शान्तिपूर्ण र सुरक्षित इन्डोप्यासिफिक, कोभिड–१९ आर्थिक पुनर्उत्थान र यस क्षेत्रका हाम्रा नागरिकहरू र साझेदारहरूका लागि नतिजाहरू प्रदान गर्न र सहयोग गर्न दुवै राष्ट्रहरूको गहिरो प्रतिबद्धतालाई पुनः पुष्टि गर्यौं,’ ब्लिन्केनले ट्विटमा उल्लेख गरेका छन्। बेलायतमा सम्पन्न औद्योगिक राष्ट्रहरुको समूह (जी ७)को विदेश मन्त्रीहरुको बैठकको क्रममा दुवै नेताबीच भेटवार्ता भएको हो।
उनीहरूले अमेरिका–अष्ट्रेलिया गठबन्धनलाई अझ गहिरो बनाउने, अर्को दशकमा महत्वकांक्षी जलवायु कार्यमा प्रतिबद्धताको महत्त्व र विश्वभर लोकतन्त्रको रक्षा, सुदृढीकरण र नवीकरण जारी राख्न समान विचारधाराका सहयोगी र साझेदारहरूको आवश्यकताबारे पनि छलफल भएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।
उनीहरूले युक्रेनविरुद्ध रुसको चलिरहेको आक्रामकताबारे पनि चिन्ता व्यक्त गरेका छन्। धम्की वा जबरजस्तीको सहारा नगरी क्रस–स्ट्रेट मुद्दाहरूको शान्तिपूर्ण समाधानको लागि समर्थन दोहोर्याउँदै विश्वव्यापी स्वास्थ्य विकासमा ताइवानको महत्त्वपूर्ण योगदानमा समेत जोड दिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै नेताले यस क्षेत्रमा संयुक्त प्रयास गर्न र कोभिड–१९ बाट ग्रस्त क्षेत्रको राम्रोसँग पुनः निर्माण गर्न प्रतिवद्धता जनाएका छन्। -रासस/एएनआई










