दाङ : दाङ-सल्यान सडकखण्ड आइतबारदेखि दैनिक ८ घन्टा बन्द हुने भएको छ। आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने भएको छ।
जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरि ८ घण्टा सडकखण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए।
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रवेश मार्ग कपुरकोट क्षेत्रको सडक निकै जीर्ण बनेको छ। राप्ती राजगर्मा सडक खण्ड अन्तरगत चोरखोला-कपुरकोट क्षेत्रमा स्तरोन्नतिको काम हुन लागेको हुँदा सडकखण्ड दैनिक ८ घन्टा बन्द गर्ने निर्णय भएको खड्काले बताए।
पुस ११ गतेबाट लागू हुनेगरी २५ गतेसम्म सडक खण्ड दैनिक ८ घन्टा बन्द हुने भएको हो। यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुट कपुरकोट-पैंयाखोर डाइभर्सन प्रयोग गर्न सक्ने समेत खड्काले बताए।
रोल्पाको कोइरास्थित सिमेन्ट उद्योगबाट चुनढुंगा र कच्चा पदार्थ ओसार्ने दर्जनौं टिपरहरू गुड्न थालेपछि कालोपत्रे सडक जीर्ण अवस्थामा पुगेको हो








