पुस २०, बर्दिया । नेपाल–भारत सिमाना नजिक पर्ने बर्दियाको राजापुर नगरपालिका १० ढुण्डिपुर गाउँमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । राजापुरको ढुण्डिपुर गाउँको गहुँ–तोरी खेतमा आज मङ्गलवार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा। रबिन कडरियाले जानकारी दिनुभयो ।
मृत अवस्थामा फेला परेको जङ्गली हात्तीलाई विद्युतीय धरापमा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा डिभिजन वन कार्यालय, निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मी टोली पुगिसकेको र मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
अहिले पोस्टमार्टमको तयारी भइरहेको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने कडरियाले बताउनुभयो । केही दिनदेखि जङ्गली हात्तीले गाउँमा बालीमा क्षति तथा घरगोठ भत्काउन थालेको र तीन दिनअघि मात्रै जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएपछि त्यस क्षेत्रका स्थानीयवासी आतङ्कित तथा आक्रोशित थिए ।
जङ्गली हात्तीको आतङ्कका कारण मर्कामा परेका स्थानीयवासीले विद्युतीय धराप राखेको हुनसक्ने अनुमान गरिएको छ ।
यस क्षेत्रमा गएको एक दशकभित्र दुई वटा, बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र ठाकुरबाबा नगरपालिका २ बलातीमा स्थानीयवासीले थापेको विद्युतीय धरापमा एक र योसँगै विद्युतीय धरापमा परि चार जङ्गली हात्तीको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख कडरियाले बताउनुभयो ।
यस्तै यही पुस १८ गते जङ्गली हात्तीको आक्रमणमा परि बर्दियाको राजापुर नगरपालिका ९ की ५४ वर्षीया धुशिया थारुको ज्यान गएको थियो । नेपाल–भारत सिमानाको पिलर नं। ९२–९३ दशगजा क्षेत्रमा बाख्रा चराउन गएका थारुलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।