गृहपृष्ठ Featured कपिलवस्तुमा चिसोसंगै पानी पर्दा जनजीवन थप प्रभावित (फोटो फिचर)

कपिलवस्तुमा चिसोसंगै पानी पर्दा जनजीवन थप प्रभावित (फोटो फिचर)

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : लगातारको चिसोले कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम नलाग्दाँ जिल्लामा अत्यधिक चिसो महसुस भइरहेको हो । ४/५ दिनयता लगातार बढेको चिसो र विहिबारबाट परेको बर्षाले जिल्लामा विपन्न तथा न्यानो कपडाको जोहो गर्न नसक्ने गरिब समुदायका मानिस संकटमा परेका छन् । चिसो छल्न दिनरात आगो तापे बस्नु पर्ने बाध्यता आइपरेपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई थप समस्या सिर्जना भएको छ । यसरी दिनरात आगो तापेर बस्नु पर्दा दैनिक छाक टार्न समस्या भएको दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्नेहरुले दुखेसो पोखेका छन् ।

कठ्यांग्रिदो चिसोसँगैको पानीले बिहानैदेखि कपिलवस्तुको जनजीवन प्रभावित भएको अवस्था छ । बिहानदेखि चिसोसंगै हल्का हावा समेत चल्ने गरेको छ । बिहीबारबाट जिल्लामा पानी पर्दा सर्वसाधारण थप कठ्यांग्रिएका छन् । चिसो छल्न जिल्लावासीले जसोतसो, आ–आफ्नो घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । घाम नलागेर कठ्यांग्रिदो चिसो बढेपछि बालबालिका र वृद्धवृद्धामा धेरै प्रभावित भएका छन् ।

चिसोले शारीरिक रूपमा कमजोर रहेका स–साना बालबालिका, वृद्धवृद्धाहरुलाई धेरै जोखिम रहने चिकित्सकहरूको सुझाव छ । चिसोका कारण अहिले रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने समस्याका विरामी प्रत्येक घरका रहेका छन् । यस्ता लक्षणका कारण कोरोना संक्रमणको जोखिम आशंकाले समुदायका थप त्रास सृजना गरेको छ । जिल्लामा चिसो अत्यधिक बढेको कारण सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कँदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन र बेलाबेलामा तातो र झोलिलो खानेकुरा धेरै खान चिकित्सकहरूले आग्रह गरेका छन् ।

साथै चिसोमा हुने संक्रमण अहिले धेरै देखिने भएकाले कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्था गएर उपचार गराउनसमेत सुझाव दिएका छन् ।

यता स्थानीय सरकारले चिसोबाट आफ्ना नागरिक जोगाउन कुनै व्यवस्था नगरेको गुनासो बढ्न थालेको छ । जिल्लाको केही पालिकाले चोकचोकमा दाउरा बाँड्नेबाहेक कुनै काम नगरेका स्थानीयहरुले गुनासो गरेका छन् ।

सम्बन्धित् समाचार