गृहपृष्ठ Featured ‘न बिर्सेँ तिमीलाई’को नयाँ भर्सनमा अञ्जुको दुखेसो

‘न बिर्सेँ तिमीलाई’को नयाँ भर्सनमा अञ्जुको दुखेसो

अञ्जु पन्तको स्वरमा नौ वर्षअगाडि बजारमा आएको गजल ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’को नयाँ भर्सन आएपछि केही दिनयता यसलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएका छ। नयाँ भर्सनमा पछिल्लो समयकी चर्चित गायिक रचना रिमालको स्वर रहेको छ।

आफ्नो स्वरमा रहेको गजलको नयाँ भर्सन आएपछि गायिका पन्तको पनि भनाइ आएको छ। निर्माता विपिन किरणले पुरानै संगीत र शैलीमा रिमालको स्वरमा गजललाई फेरि रेकर्ड गरेर अफिसियल भिडियोको रूपमा सार्वजनिक भएपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राखेकी हुन्।

उनले उही संगीत र उहीँ एरेन्जमा नयाँ भर्सनको गीत रेकर्ड गरेको तथा नयाँ भर्सनमा ओरिजिनल गायिकाको नाम नराखिनु दुःखद् र अन्यायपूर्ण भएको टिप्पणी गरेकी छन्। उनले यस्तो प्रवृत्तिले संगीत र कलाकारलाई दिने सम्मान तथा आदरको संस्कार नै भुलिने बताएकी छिन्।

‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन। अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ,’ पन्तले लेखेकी छिन्, ‘मेरी छोरी समानकी रचना नानुलगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ। उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो। के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन।’

आफूले कोही एक जना व्यक्तिभन्दा पनि यस्तै खालको चलनले भोलिका दिनमा संगीत र कलाकारको सम्मान नै भुल्न लागिरहेको टिप्पणी गरेकी छिन्। उनले लेखेकी छिन्, ‘भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्।’

सम्बन्धित् समाचार