गृहपृष्ठ Featured माओवादी केन्द्र संसदीय दलको बैठक जारी, एमसीसीबारे निर्णय हुने

माओवादी केन्द्र संसदीय दलको बैठक जारी, एमसीसीबारे निर्णय हुने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ। सरकारले दिउँसो १ बजे संसद् बैठकमा एमसीसी टेबल गर्ने भएपछि पार्टीको निर्णय लिन माओवादी केन्द्रले दलको बैठक बोलाएको हो।

बैठकले आजको प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने योजना तय गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा एमसीसी र महाभियोग, समसामयिक राजनीतिक घटनाक्रमको विषयमा बैठकमा जानकारी गराउँदैछन्। बैठकको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको ११ बजेको बैठकमा पार्टीको धारणा राखिने माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए।

एमसीसीको विषयमा माओवादीभित्र पनि दुई धार रहेको छ। वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर पत्र पठाएका थिए। गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहमत भएको पुष्टि भएको छ।

अध्यक्ष प्रचण्ड बाहिर भने संशोधन नभई एमसीसी पास गर्न नसकिने अभव्यिक्ति दिँदै आएका थिए। एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि प्रचण्ड चेपुवामा परेका हुन्।

बुधबार प्रधानमन्त्री देउवाले प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई बुधबारै एमसीसी टेबल गर्ने तयारीबारे जानकारी गराएका थिए। दाहाल र नेपालसँगको छलफलपछि देउवाले पार्टीको संसदीय दलको बैठक गरे। कार्यव्यवस्थाको बैठक राख्न सभामुख सापकोटालाई टेलिफोन गरेका थिए। सभामुखले साढे ११ बजे कार्यव्यवस्था बैठक राखेका छन्।

सम्बन्धित् समाचार