काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग नेपाल(भारतबीचको विवादीत सीमाबारे छलफल गरेका छन्। नयाँ दिल्लीको हैदरावास हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूहरुबीच सीमा विवादबारे छलफल भएको बताए।
उनले विवादी सीमाको समस्या संयन्त्रमार्फत् समाधान गर्न प्रस्ताव गरेको बताए। ‘सीमा समस्याबारे हामीबीच छलफल भएको छ। सीमा समस्या संयन्त्रमार्फत् समाधान गर्न प्रस्ताव गरेको छु,’ प्रधानमन्त्री देउवाले भने।
उनले कोरोना महामारीको बेला भारत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे। उनले नेपाल र भारतबीच सौहार्द वातावरण रहेको र दुई देशबीचको सम्बन्ध बहुआयामिक भएको बताएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका बेला सन् २०१४ मा सुस्ता र कालापानी क्षेत्रको सीमा विवाद समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन गर्ने सहमति गरेका थिए। सोही समयदेखि दुई देशबीचको सीमा समाधान गर्न संयन्त्र खडा भएको छ।








