गृहपृष्ठ खबर रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो । तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो ।

 

साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो ।

 

तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए ।

 

सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ । त्यसकारण सुनारलाई ५३ वटा अरिङ्गालले टोकेको अनुमान गरिएको विश्वकर्माले बताए । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए ।

 

 

उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडीसमेत थिए । सुनार हाल त्रिवेणी गाउँपालिकामा कर सङ्कलकका रूपमा कार्यरत रहेका थिए । उनलाई गाउँपालिकाले रुकुम र सल्यानको सिमाना खौलामा खटाएको थियो । त्यहीँबाट अरिङ्गाल झार्न सल्यान गएको बताइएको छ ।

सम्बन्धित् समाचार