गृहपृष्ठ Featured जगदीशपुर तालमा बचेरा हुर्काउँदै रैथाने चरा

जगदीशपुर तालमा बचेरा हुर्काउँदै रैथाने चरा

मनोज पौडेल, कपिलवस्तु ।

जगदीशपुर तालको उत्तरी कुनाको आइल्यान्ड नजिकै जलअप्सरा पक्षीलाई अहिले तीन बचेरा हुर्काउन भ्याइनभ्याइ छ । छेउमा बगाले सिमकुखराका चार बचेरा पनि माउसँगै आहारा खान सिक्दैछन् ।

तालकै पूर्वी कुनामा बसेको हरिहाँस पनि बचेरा हुर्काउन उस्तै व्यस्त छ । माउ चराले आहार ल्याएर बचेरालाई खान सिकाउँदै गरेको दृश्य ताल वरिपरि देखिन्छ ।

अहिले तालमा रैथाने चराले बचेरा हुर्काइरहेका छन् । चराको चहलपहलले पर्यटकलाई पनि आकर्षित गरेको छ । विश्व सीमसार क्षेत्रमा सूचीकृत तालमा कुर्मा, लामऔँले, सिलसिले हाँस, सिमकुखुरा र ध्यानी बकुल्लाले बचेरा हुर्काइरहेका छन् ।

त्यस्तै डुबुल्कीचरा, कोटेरो मुनिया, रातो मुनिया, वस्तु बकुल्ला र आसकोटे बकुल्लाले पनि बचेरा हुर्काइरहेको भेटिन्छन् । सानो जलेवा, कालो टाउके मुनिया, पहेंलो, रातो र कालो जुनबकुल्ला पनि उही कर्ममा व्यस्त छन् ।

तालमा अहिले ३० भन्दा बढी प्रजातिका रैथाने चराले गुँड लगाएर, अण्डा पारेर बचेरा हुर्काइरहेको भेटिन्छन् । ‘तालमा सीमसार क्षेत्र प्रशस्त हुँदा रोजीरोजी ठाउँ पाउने र आहारविहारलाई समस्या नहुँदा रैथाने चरा यहाँ आकर्षित भएका हुन्,’ वरिष्ठ चराविद् डा। हेमसागर बरालले भने । सुरक्षित ठाउँ पाउने, सीमसार क्षेत्रको संरक्षण र चरामैत्री वातावरण हुँदा उनीहरू यहाँ ओथारो बस्न आएको उनले सुनाए ।

चराहरू असारदेखि ठाउँ खोज्दै झिजाझिजी, खरपात र घुरपात बटुलेर गुँड बनाउँछन् । तीनदेखि चार साता ओथारो बसेर बचेरा कोरल्छन् । दुईदेखि तीन महिनामा हुर्काएर असोजसम्म उड्न सक्ने बनाउँछन् ।

मुनिया प्रजातिका तीनवटा चराले यहाँ राम्रो आहारविहार पाउँदा यही मौसममा दुईपटकसम्म अण्डा पारेर बचेरा हुर्काउने गरेको चराविद् डा। बरालले बताए । तालले हिउँदमा उत्तरी क्षेत्रबाट बसाइँ सरेर आउने सबैभन्दा धेरै पानीचरालाई आश्रय दिँदै आएको छ ।

चराले बचेरा हुर्काउन गरेको संघर्ष, वात्सल्य प्रेम र उनीहरूका गतिविधि निकै रोमाञ्चक देखिने नेचर गाइड अनिल चौधरीले बताए । ‘वास्तवमा चरा पर्यटनको आकर्षण यहीँ छ,’ उनले भने, ‘यसलाई जोडेर योजना बनाउन सके मुलुकले राम्रो फाइदा पाउन सक्छ ।’ सिंचाइ प्रयोजनका लागि निर्माण गरिएको जगदीशपुर ताल अहिले चरा अवलोकलन गर्न मुलुककै उत्कृष्ट स्थल बनेको हो ।

मानव निर्मित मुलुकको सबैभन्दा ठूलो तालमा आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । त्यस्तै ताल क्षेत्रमा १ सय ६८ प्रजातिका चरा पाइने जनाएको छ ।

त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चराहरू जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ वन्यजन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छन् ।

रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर पनि एक हो । कपिलवस्तु नगरपालिका– ९ र १० मा रहेको ताल १९७२–१९८० मा सिंचाइ प्रयोजनका लागि निर्माण गरिएको थियो ।

बसाइँसराइ गरी आउने पाहुना र रैथाने चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु र वनस्पति यहाँका मुख्य जैविक विविधता हुन् । जगदीशपुर तालको मलिलो र आहारयुक्त वासस्थानले चरालाई बचेरा हुर्काउन र रमाउन आकर्षित गरिरहेको चराविद्हरू बताउँछन् । १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताल मुलुकको दोस्रो पंक्षी आरक्ष ताल हो ।

सम्बन्धित् समाचार