गृहपृष्ठ Featured नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिबाट हुने

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिबाट हुने

पोखरा ।

नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरा रंगशालामा हुने उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । राष्ट्रपतिको अस्वस्थताका कारण उपराष्ट्रपतिबाट उद्घाटन गरिने राष्ट्र्रिय खेलुकद परिषदले जनाएको छ ।

उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि सहभागी हुनेछन् । खेलकुदमन्त्रीबाट झन्डोत्तोलन हुनेछ ।

सागका पूर्वस्वर्णधारी म्याराधन धावक टीका बोगटीको नेतृत्वमा ओलम्पियन टिमले ओलम्पिक ज्योति प्रज्वलन गर्ने छ ।

उद्घाटनका अवसरमा सहभागी ११ टिमको मार्चपास र ट्रफी टुरका सद्भावना दूतहरुको मार्चपास हुनेछ । त्यसबाहेक संयुक्त ब्यान्ड डिस्प्ले, सात प्रदेश झल्कने नृत्य, नेपाली सेनाको समन्वयमा राष्ट्रिय सेवा दलबाट खुकुरी ड्रिल प्रदर्शन तथा हुड्केली नाच, राष्ट्रिय कलाकारबाट गीत प्रस्तुति गरिनेछ भने आतिसबाजी पनि गरिनेछ ।

प्रतियोगितामा सात प्रदेश, विभागीय टिम (सेना, पुलिस र आर्मी) तथा एनआरएनएका गरी झन्डै सात हजारभन्दा बढी खेलाडीले ३६ खेल र दुई प्रदर्शनी खेलमा सहभागिता जनाउने छन् ।

गण्डकी अञ्चलका पोखराबाहेक स्याङजाको वालिङ, पर्वत, बाग्लुङ, म्याग्दी, गोरखा र तनहुँमा विभिन्न खेलको प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, ह्यान्डबल, फेन्सिङका खेल पोखरा रंगशाला हातामा भइरहेका छन् ।

सम्बन्धित् समाचार