काठमाडौं ।
दक्षिण कोरियाका फरवार्ड सन ह्युङ–मिनको दुई गोलप्रेरित टोटनहमले बुधबार राति यूईएफए च्याम्पियन्स लिगमा जर्मनीको इन्ट्राचट फ्रांकफर्टलाई ३–२ ले पराजित गरेको छ ।
पाहुना टोली फ्रांकफर्टले १४ औं मिनेटमा दाइची कामादाको गोलबाट अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा फ्रांकफर्ट अंकविहीन बन्यो । १९ औं मिनेटमा ह्यारी केनको पासमा सनले बराबरी गोल फर्काए । २८ औं मिनेटमा केनले पेनाल्टीमा गरेको गोलबाट टोटनहमले अग्रता लियो । ३६ औं मिनेटमा सनले अर्को गोल थपेपछि टोटनहमले अग्रता बढायो ।
जितपछि टोटनहम ७ अंकका साथ शीर्ष स्थानमा छ । समान ६ अंक जोडेका मार्से र स्पोर्टिङ सीपी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ४ अंक जोडेको फ्रांकफर्ट चौथो स्थानमा छ । समूह ‘डी’को अर्को खेलमा मार्सेले गएराति स्पोर्टिङ सीपीलाई २–० ले हराएको थियो ।








