दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा १५० जनाभन्दा बढीको मृत्यु भएको छ। ईसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागीहरुबीच राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उक्त घटना भएको यहाँका अधिकारीहरुले बताएका छन्।
उत्सवमा सहभागी एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि भागदौड भएको बताइएको छ। घटनाप्रति दुःख ब्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, ‘एउटा त्रासदी र विपत्ति आयो, जुन हुनु हुँदैनथ्यो। सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्ने तथा सावधानी अपनाउनेछ।’
प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका मानिसहरू एकअर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भीडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भीडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन्।
स्थानीय समयानुसार राति १० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा १५१ जनाको मृत्यु भएको अग्नी नियन्त्रण विभागले जनाएको छ। मृत्यु हुनेमा अधिकांश २० वर्ष भन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएका बताइएको छ।
गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ। ‘हेलोवीन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको सङ्ख्या धेरै हुन गएको छ,’ अग्नि नियन्त्रक चोइ सियोङ–बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताए। घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए।
सियोलका अधिकारीहरूले आइतबार बिहानसम्म ३५५ जना हराइरहेका अपुष्ट रिपोर्ट प्राप्त भएको जनाएका छन्।








