फिफा विश्वकपको क्वार्टफाइनलमा शनिबार राति पोर्चुगल र मोरक्को आमनेसामनो हुँदैछन्। कतारको दोहास्थित अल थुमामा रंगशलामा यी दुई टिम उत्रिँदा जारी विश्वकपमा उच्च मनोबल भएका मुलुकको आमनासामना हुनेछ।
जारी विश्वकपमा उत्कृष्ट लय र उच्च मनोबलमा रहेको अफ्रिकी मुलुक मोरक्कोले स्पेन र बेल्जियमलाई हराएर सनसनी मच्चाइसकेको छ। यद्यपि, अन्तिम १६ मा स्विट्जरल्यान्डलाई ६-१ को नतिजामा पराजित गरेर अन्तिम आठमा आइपुगेको पोर्चुगललाई पराजित गर्नु सहज हुनेछैन।
मोरक्कोले सन् २०१० को विश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
विश्वकपको इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको मोरक्को जारी विश्वकपमा अपराजित टिम हो। जारी विश्वकपमा एक मात्रै गोल खाएको मोरक्कोलाई कुनै पनि विपक्षी टिमका खेलाडीले गोल गर्न सकेका छैनन्।
समूह चरणमा क्यानडाविरुद्ध मोरक्कोले एक आत्मघाती गोल खाएको थियो। त्यसबाहेक तीन खेलमा मोरक्कोको रक्षापंक्ति कसैले छिचोल्न सकेका छैनन्।








