गृहपृष्ठ Featured गोल्डेन बुट : दौडमा को छ अगाडि ?

गोल्डेन बुट : दौडमा को छ अगाडि ?

प्रकाशित मिति:

विश्वकप फुटबल प्रतियोगितामा विजेता ट्रफीपछि अर्को महत्वपूर्ण उपाधि हो, गोल्डेन बुट । प्रतियोगिताभरि सर्वाधिक गोल गर्ने खेलाडीले मात्र गोल्डेन बुट पाउँछन् । यसबाहेक अन्य खेलाडीले गोल्डेन बुट पाउँदैनन् । प्रत्येक विश्वकप संस्करणको फाइनल दिन मात्र गोल्डेन बुटको विजेता घोषणा हुन्छ ।

उपाधि भिडन्तसम्म पनि गोल्डेन बुटका हकदार खेलाडी बनिरहेका छन् । कतारमा आयोजना भइरहेको विश्वकपको सेमिफाइनल खेल मंगलबार रातिदेखि सुरु हुँदै छ । बिबिसीका अनुसार गोल्डेन बुट हकदारमा २० खेलाडी छन् । बिबिसीले दुई गोल गरेका खेलाडीलाई मात्र समावेश गरेको छ ।

खेलाडीमध्ये फ्रान्स, अर्जेन्टिना, क्रोएसिया र मोरक्कोका खेलाडी मात्र गोल्डेन बुट जित्ने दौडमा अगाडि छन् । नेदरल्यान्ड्स, ब्राजिल, पोर्चुगल, इंग्ल्यान्ड, सर्बिया, इक्वेडर, जापान, सर्बिया र दक्षिण कोरियाका खेलाडी घर फर्किसकेका छन् । उनीहरूको सम्भावना समाप्त भएका छन् ।

गोल्डेन बुट जित्ने दौडबाट इक्वेडरका कप्तान एनर भ्यालेन्सिया, स्पेनका अल्भारो मोराटा, ब्राजिलका रिचार्लिसन, इंग्ल्यान्डका बुकायो साका र मार्कस रासफर्ड, नेदरल्यान्ड्सका कोडी गाक्पो र पोर्चुगलका गोन्कालो रामोस प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यी सबै खेलाडीले समान ३ गोल गरेका थिए ।

अब सेमिफाइनलमा पुगेका फ्रान्स, अर्जेन्टिना, मोरक्को र क्रोएसियाका खेलाडीले सेमिफाइनलसँगै थप एक खेल अवसर पाउनेछन् । सेमिफाइनलबाट बाहिरिए पनि तेस्रो र चौथो स्थानमा हुने खेलमा समेत गोल गर्न अवसर पाउँछन् । सेमिफाइनलका विजेता टोलीहरूले फाइनलमा भिड्दा खेलाडीले गोल संख्या बढाउने अवसर प्राप्त गर्छन् । यसै कारण चालू विश्वकपको गोल्डेन बुट रेसमा सेमिफाइनल पुगेका टोलीको सम्भावना मात्र धेरै देखिएको हो ।

विश्वकपमा बाँकी चार खेलको समीकरणमा फ्रान्सका केलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सकै ओलिभर जिरुड सबैभन्दा अगाडि छन् । एम्बाप्पेले पाँच खेलमा सर्वाधिक पाँच गोल गर्दै शीर्ष स्थानमा छन् । मेसी र जिरुडले समान चार गोल ठोकेका छन् । यी दुवै खेलाडीले एम्बाप्पेलाई पछ्याइरहेका छन् ।

केलियन एम्बाप्पे (फ्रान्स) ५ खेल ५ गोल, २ गोल असिस्ट
कतारमा फ्रान्सका २३ वर्षीय स्ट्राइकर एम्बाप्पेले वाहवाही कमाइरहेका छन् । सेमिफाइनलमा फ्रान्सले स्थान रक्षा गर्दा एम्बाप्पेको योगदान अधिक रहेको छ । ब्याक टु ब्याक फ्रान्सलाई अन्तिम चारमा पुर्‍याउन उनले पाँच गोल गरेका छन् । यसै गोल संख्याका आधारमा एम्बाप्पे गोल्डेन बुट दौडमा अगाडि बढेका छन् । मैदानमा निकै चलाखीपूर्ण तरिकाले बल अगाडि बढाउने र विपक्षी खेलाडीले समेत छुन नसक्ने गरी दौडने क्षमता उनीसँग छ ।

फ्रान्सले अहिलेसम्म ११ गोल गरेका छन् । यसमध्ये सात गोलमा एम्बाप्पेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नता रहेको छ । पाँचमध्ये दुई खेलमा एम्बाप्पे गोल गर्न चुके । अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग र समूह चरणमा ट्युनिसियासँगको खेलमा उनले गोल गर्न सकेनन् । एम्बाप्पेको यो दोस्रो विश्वकप सहभागिता हो । केवल दुई विश्वकप खेल्दा नै उनले नौ गोल गरेका छन् । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजको नाममा सर्वाधिक १६ गोल संख्या रहेको छ ।

ओलिभर जिरुड (फ्रान्स) ५ खेल ४ गोल, ० असिस्ट
फ्रान्सकै खेलाडी जिरुड एम्बाप्पेलाई गोल्डेन बुट दौडमा पछ्याइरहेका छन् । फ्रान्सको राष्ट्रिय टोलीका उनी सर्वाधिक गोलकर्ता हुन् । यसै विश्वकपमै थिएरी हेनरीको नाममा रहेको सर्वाधिक ५१ गोलको रेकर्ड जिरुडले तोडेका थिए । कतार विश्वकपमा जिरुडले चार गोल गरेका छन् । विश्वकपको समूह चरणमा अस्ट्रेलियाविरुद्ध दुई गोल गरेका जिरुडले प्रिक्वार्टरफाइनलमा पोल्यान्डविरुद्ध एक गोल गरे । डेनमार्क र ट्युनिसियासँगको खेलमा उनले गोल गर्र्न सकेनन् । क्वार्टरफाइनलमा उनले इंग्ल्यान्डविरुद्ध एक गोल गरे । उनकै सोही गोल फ्रान्स विश्वकपको अन्तिम चारमा पुग्यो । जिरुडले पाँच खेलमा एकपटक पनि गोलका लागि साथीहरूलाई असिस्ट गरेका छैनन् ।

लियोनल मेसी (अर्जेन्टिना) ५ खेल ४ गोल, २ असिस्ट
आठ वर्षपछि अर्जेन्टिना विश्वकपको सेमिफाइनल पुग्दा कप्तान लियोनल मेसी नै नायक रहे । साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको खेलदेखि नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलसम्म अर्जेन्टिनाको प्रदर्शनमा मेसीले आफूलाई प्रमाणित गरे । आवश्यक परेको वेला डिफेन्स खेलाडीको भूमिकासमेत निर्वाह गर्न सक्ने मेसीले पाँच खेलमा चार गोल गरेका छन् ।

उनले दुईपटक गोलका लागि असिस्ट पनि गरे । विश्वकप दौडमा मेसीले एम्बाप्पेलाई पछ्याइरहेका छन् । सन् २०१४ को विश्वकपमा उत्कृष्ट खेलाडी बनेका मेसीले साउदी अरेबिया, मेक्सिको र अस्ट्रेलियाविरुद्ध गोल गरेका थिए । उनले पोल्यान्डसँगको प्रतिस्पर्धा गोल गर्न सकेनन् । मेक्सिकोविरुद्धको खेलमा एक गोल असिस्ट गरेका मेसीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँगको खेलमा एक गोल गर्नुका साथै असिस्ट गरेका थिए ।

 ६० खेलमा  एक सय ५८ गोल
विश्वकपमा कुल ६४ खेल हुनेछन् । विश्वकपमा फ्रान्स र इंग्ल्यान्डबीचको खेल ६०औँ थियो । अहिलेसम्म एक सय ५८ गोल भएका छन् । विश्वकपमा प्रतिखेल गोल औसत २.६३ रहेको छ । चालू विश्वकपमा सात खेलाडीले तीन गोल गरेका छन् । पोर्चुगलका रामोस, स्पेनका मोराटा, इंग्ल्यान्डका रास्फोर्ड, इक्वेडरका भ्यालेन्सिया, इंग्ल्यान्डका साका, ब्राजिलका रिचार्लिसन र नेदरल्यान्ड्सका गाक्पोले समान तीन गोल गरेका छन् ।

यसैगरी, २१ खेलाडीले समान दुई गोल गर्न सफल भए । पोर्चुगलका ब्रुनो फर्नान्डेस, इंग्ल्यान्डका ह्यारी केन, जर्मनीका निक्लास फुल्कर्ग, क्यामरुनका भिसेन्ट, इरानका मेहदी, ब्राजिलका नेमार जुनियर, पोल्यान्डका रोबर्ट लेवान्डोस्की, नेदरल्यान्ड्सका वाउट, पोर्चुगलका राफेल लिओ, जर्मनीका केई हाभेट्ज, उरुग्वेका जिओगिना, जापानका रिट्सु डोन, स्पेनका फेरान टोरेज, घानाका मोहमद कदुस र सर्बियाका मोट्रोभिकले समान दुई गोल गरेका थिए । विश्वकपमा सहभागी ८० खेलाडीले समान एक गोल गरे भने दुई खेलाडीले आत्मघाती गोल गरे ।

– रासस

सम्बन्धित् समाचार