रूपन्देही ।
दुर्घटनाका घाइतेलाई उद्धार गर्ने बहानामा मोटरसाइकल चोरी गरेर फरार भएका अभियुक्त पक्राउ परेका छन् । गत पुस ९ गते सैनामैनामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको घटनामा घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरी फरार भएका अभियुक्त बुधबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रूपन्देहीको कञ्चन गाउँपालिका–२ गोफ्लापुर बस्ने २४ वर्षीया सागर बुढाथोकी रहेका छन् । कपिलवस्तुको तौलिहवाका ईम्तियाज अहमद रंगरेजको मोटरसाइकल चोरी गरेको आरोपमा उनलाई सालझण्डी प्रहरी रुपन्देहीले पक्राउ गरेको हो ।
बुढाथोकीबाट लु २० प ७०४४ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।
अभियुक्त बुढाथोकीले पुस १६ गते राति सैनामैना नगरपालिका ७ आमी बजारका टेकबहादुर छन्त्यालको पसलबाट सामसुङ मोबाइल, २ हजार २०० नगद र टेकबहादुर छन्त्यालकै नामको मतदाता परिचयपत्रको सक्कलप्रति पनि चोरी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अभियुक्त बुढाथोकीमाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।








