सागर वि.क., वैखरी अनलाईन ।
प्रेरा पोलिक्लिनक प्रा.लि.ले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बाणगंगा ५ कोपवामा रहेको उक्त पोलिक्लिनकले एडमण्ड सिटी हस्पिटल बुटवलको सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २ सय ४३ जना सेवाग्राही लाभान्वित भएका पोलिक्लिनकका प्रबन्ध निर्देशक विक्रम घिमिरेले जानकारी दिए ।

बाणगंगा नगरपालिकाका वडा नम्बर ५,६ र कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० लाई लक्षित गरि शिविर आयोजना गरिएको बताउँदै उनले भने, ‘शिविरबाट आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले लाभ लिनुभएको छ । शिविरबाट २४३ जनाले स्वास्थ्य चेकजाँच गराउनुभयो ।’
प्रबन्ध निर्देशक घिमिरेका अनुसार ९० जनाले निशुल्क भिडियो एक्सरे सेवा लिएका छन् । आर्थिक अवस्था कमजोर भई सुविधा सम्पन्न अस्पतालमा गई उपचार गराउन नसक्नेहरुका लागी शिविर महत्वपूर्ण सावित भएको उनले दाबी गरे ।

उनले सर्वसाधरणको स्वास्थ्यलाई ध्यानमा राखि विगतमा पनि शिविर गरेको र आगामी दिनमा पनि यस्ता शिविरहरु आयोजना गर्दै जाने बताए । उनले स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष भएकाले त्यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।
शिविरमा जनरल फिजिसियन, हाड जोर्नी तथा बाथरोग, जनरल सर्जरी तथा ल्याप्रोसकोपी, प्रसुति तथा महिला रोग सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको प्रेरा पोलिक्लिनक प्रा.लि.का मेडिकल अफिसर डा. विकास घिमिरेले जानकारी दिए ।
यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले स्थानीयको आवश्यकतालाई पहिचान गरेर स्वास्थ्य शिविर आयोजना गरेकोमा खुशी व्यक्त गरे ।
एडमण्ड सिटी हस्पिटलका प्रो.डाक्टर प्रकृतिराज कँडेल (अथ्रो सर्जन), डा.अनिल चौधरी(अथ्रो सर्जन), डा.राजन भण्डारी( फिजिसियन), डा.कमल कार्की (जनरल सर्जरी), डा. ज्योति (गाईनो), डा.रोशन यादव र रामचन्द्र खनाल(मेडिकल अफिसर) लगायतको टिमले शिविरमा स्वास्थ्य उपचार गरेको हो ।
एडमण्ड सिटी हस्पिटलका प्रशासक मुक्ति काफ्ले र प्रेरा पोलिक्लिनकका प्रबन्ध निर्देशक विक्रम घिमिरेबीच अगामी दिनमा पनि सहकार्य गर्दै उपचारबाट बञ्चित समुदायलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गर्दै जाने सहमति भएको छ ।








