दशकौँदेखि भोगचलन गर्दै आए पनि लालपुर्जा विहीन कपिलवस्तु नगरपालिका- १ स्थित बालबिटौरी जग्गाका पीडितहरूलाई लालपुर्जा उपलब्ध गराउन माग गर्दै वडा कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
मन्त्रालयका सचिव मदन भुजेललाई वडा अध्यक्ष मोहम्मद जाहिद खाँले काठमाडौँमा उक्त ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र लामो समयदेखि भोगचलन हुँदै आए पनि हालसम्म लालपुर्जा नबनेको उल्लेख गरिएको छ।
लालपुर्जा नहुँदा जग्गाधनीहरू हकभोग, किनबेच तथा धितो राख्ने जस्ता आधारभूत अधिकारबाट वञ्चित भएको ज्ञापनपत्रमा उल्लेख छ। बालबिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रियालाई अघि बढाउन आवश्यक समन्वय र पहल गरिदिनसमेत माग गरिएको छ।
वडाध्यक्ष खाँले धेरै प्रयास गर्दा पनि हालसम्म पीडितहरूले लालपुर्जा नपाउँदा विभिन्न समस्या झेल्नुपरेको बताउँदै वर्तमान सरकारले यस विषयलाई चाँडो समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले पनि यस विषयमा आफूले लामो समयदेखि मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिँदै वर्तमान सरकारले यो समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।
२०२६ सालमा जग्गाको नापजाँच गर्दा बालबिटौरीका रूपमा वर्गीकरण गरिएको उक्त जग्गा अहिले पनि प्रयोगमा भए पनि त्यसको लालपुर्जा भने हालसम्म जारी हुन सकेको छैन।







