रेसुङ्गामा अहिले गुल्मीदरबार गाउँपालिका ३ निवासी सुब्बा बस्नेतले ५० लाखभन्दा बढी रकम खर्च गरेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन् । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाको संगम स्थल भुवने डाँडामा निर्माण गरिएको उक्त आकर्षक मन्दिरले त्यहाँ जाने जो केहीको पनि मन लोभ्याई रहन्छ । भगवान् राम लक्ष्मण र सिताको पौराणिक प्रसंगलाई जोडेर निर्माण गरिएको उक्त मन्दिरमा रिष्यश्रृंङ्गदेखि बानर सेना र जटायुसँगै त्रेता युगमा अयोध्याका राजा दशरथले श्रृंङ्गे रिषीलाई हात्ती घोडा सहित निमन्त्रणा पठाउँदा छोडिएको हात्ती घोडाका पाइलाको निशानी समेत रहेको छ ।
रोजगारीको शिलसिलामा हङकङ, मलेसिया र फिलिपिन्स लगायतका देशमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका बस्नेतले कोभिड १९ को समयमा घरमा आएको बेला खाली समयलाई सदुपयोग गरी मन्दिर बनाएको बताए । उनले आफूलाई धर्मप्रति निकै आस्था रहने भएका कारण पनि सामाजिक काममा लाग्ने प्रेरणा जागेको बताए ।
कलात्मक ढंगले निर्माण गरिएको उक्त मन्दिर रेसुंगाको काखमा अवस्थित छ । बस्नेतले निर्माण गरेको श्रीरामको उक्त मन्दिर अन्य मन्दिरहरू भन्दा भिन्न प्रकारको र पौराणिक प्रशंगले कुँदिएका छन् ।
तिनै चित्र र मूर्तिहरूको दृश्यावलोकन गर्न पर्यटकहरूको मुख्य गन्तव्य स्थल बन्ने पूर्व वडाध्यक्ष खुम खत्रीले बताए । मन्दिर निर्माण भएपछि अहिले त्यस क्षेत्रमा वनभोज खान जानेर र टिकटक बनाउन जानेहरूको चहलपहल बढ्दै गएको छ ।