गृहपृष्ठ Featured ६ वर्षमा पूरा भएन साढे ३ किलोमिटर चौराहा–गोलपार्क सडक

६ वर्षमा पूरा भएन साढे ३ किलोमिटर चौराहा–गोलपार्क सडक

बुटवल ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको चौराहा–गोलपार्क सडक खण्डको साढे तीन किलोमिटर सडक विस्तार ६ वर्ष पुग्दा समेत पूरा हुन सकेको छैन । २०७३ चैत १७ गते ठेक्का सम्झौता भई २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि विभिन्न कारणले उक्त सडक निर्माण अझै पूरा हुन नसकेको हो ।

सुरुमा जग्गा विवादले रोकिएको सडक निर्माण प्रक्रिया पछि गएर ठेकेदार कम्पनीका विभिन्न बहानाका कारण ढिलाइ भएको हो । पछिल्लो पटक थपिएको म्यादमा २०८० असारसम्म सक्ने भनिए पनि अहिलेसम्म उक्त सडकको भौतिक प्रगति जम्मा ३० प्रतिशतमात्र रहेको सडक कार्यालय बुटवलले जनाएको छ ।

द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट र पीएससमेत गरी ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँ ३८ पैसामा सडक निर्माणको ठेक्का लिएको थियो । उक्त ठेकेदार कम्पनीले हालसम्म १३ करोड भन्दा बढी रकम भुक्तानी लगिसकेको छ । सडक विस्तारको काम तीन पटक म्याद थप्दा समेत पूरा नभएपछि स्थानीयहरू सास्ती व्यहोर्न बाध्य छन् ।

पछिल्लो समय ठेकेदारले सक्रियता देखाउँदै सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रे काम सुरु गरे पनि अझै प्रभावकारी रुपमा काम नगरेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए । उनले आफूहरूले सडक निर्माणको कामलाई तीब्रता दिन पटकपटक दबाब दिएको जानकारी दिँदै यस्तै भएमा ठेक्का तोड्न सक्ने चेतावनीसमेत दिए ।

अहिले बुटवलका बस पार्कदेखि मिलनचोक हुँदै पश्चिमाञ्चल फाईनान्ससम्म एकतर्फी सडक बनाएको छ । यस्तै ट्राफिक चोकमा पनि एकतर्फी मात्र सडक सञ्चालनमा ल्याइएको छ ।

सम्बन्धित् समाचार