बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियान; १००औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाँणले वातावरणसँग सम्बन्धित पाँचवटा घोषणा गरेका हुन् ।
नगर प्रमुख खाँणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खाँणको भनाइ छ ।
फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले सरसफाइ अभियानमा आसपासका अन्य पालिकाहरूलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे ।
यी हुन् तिलोत्तमाले वातावरण सम्बन्धी गरेका पाँच घोषणा :
वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान
तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा गरेका पाँच घोषणाहरूमध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ । नगर प्रमुख रामकृष्ण खाँणले वातावरणमैत्री समाजको सिर्जनाद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गरेका हुन् ।
वातावरण र विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारुप-२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरू पूरा गराउने कार्यक्रमहरू आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगर प्रमुख खाँणले व्यक्त गरे ।
उनले प्रारूपमा प्रस्ताव गरिएका सूचकहरू हासिल गर्न सम्पूर्ण नगरबासीदेखि नेपाल सरकारका विभिन्न निकाय, प्रदेश सरकार, अन्य स्थानीय तह, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवम् निजी क्षेत्रबाट यथोचित समन्वय, सहकार्य र प्रोत्साहन प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।
हर्न निषेधित नगरपालिका घोषणा
सवारीसाधनको हर्नबाट बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई बुधबारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो घोषणासँगै अनावश्यक रुपमा हर्न बजाइ नगरको शान्ति भंग गर्ने कार्यलाई निरुत्साहित गरिनुको साथैं एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न निषेध गरिएको नगर प्रमुख खाँणले बताए ।
फोहरमैलाको वर्गीकरण गर्ने कार्य प्रारम्भ
फोहोरमैला संकलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाइ वातावरणमैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न बुधबारबाट नगरपालिकामा फोहरमैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग-अलग रुपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ ।
फोहोर वर्गीकरण कार्य प्रारम्भ भएको जानकारी गराउँदै नगर प्रमुख खाँणले अबका दिनमा आफ्नो घर, व्यवसायिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, होटेल रेस्टुरेन्ट, कार्यालयलगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग-अलग डष्टबिनको व्यवस्था गर्नु तथा डाइपर, स्यानेटरी प्याड तथा सीसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोहीअनुरुप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरबासीमा अनुरोध गरे ।
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध
नगरपालिकाले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बुधबारबाट नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री-वितरणमा प्रतिबन्ध लगाएको छ ।
अब उप्रान्त नगरमा गुट्खाजन्य पदार्थको उत्पादन, बिक्री-वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड-जरिवाना हुने नगर प्रमुख खाँणले उल्लेख गरे ।
पशु दर्ता प्रणाली शुभाम्भ
नगरपालिकाले पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ । घर–गोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सडकमा पुर्याइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खाँणले जानकारी गराए ।
यसको माध्यमबाट नगरबासीको घर–गोठमा पालिएका सबै पशु चौपायाको लगत अद्यावधिक गरी कुकुरपालन अनुमति पत्र तथा पशुदर्ता प्रमाणपत्र समेत अनलाइनबाटैं लिन सकिने नगरपालिकाले जनाएको छ ।








