नेपालगन्ज ।
कोहलपुर नगरपालिकाले नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिसन’ गराउने भएको छ । चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन प्रस्ताव माग गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
‘कोहलपुरको दीर्घकालीन विकास, निर्माणका लागि जनप्रतिनिधिले नदेखेको सामान्य देखिएका ठूला विषय पनि हुन सक्छन् । त्यस्ता विषयहरु बौद्धिक व्यक्तिबाट आओस् भन्ने हाम्रो सोचाइ हो,’ नगर प्रमुख आचार्यले भने, ‘भिजन कम्पिटिसनबाट नयाँ योजना, विचार र आइडिया आउने र त्यसले कोहलपुरको समग्र विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’
स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने छन् ।
यसरी प्रस्तावना पेश गर्दा कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरी कोहलपुरको विकास, निर्माण, सुशासन लगायतका विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नु पर्नेछ।








