वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका २ मा पहिलो खुल्ला यु–१५ फाईभए साईड वडास्तरिय फुटबल प्रतियोगिता जारी छ । उक्त प्रतियोगिता वडास्तरिय युवा क्लवको आयोजना तथा वडाको सहयोगमा आईतबारदेखि सुरु भएको हो ।
नव बर्ष २०८० को अवसरमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन खेल सोल्टी स्कट बैरिया र बि.एफ.सी.बालापुरबीच भएको थियो । जसमा सोल्टी स्कट बैरिया ४–१ गोल अन्तरले विजयी भएको थियो । प्रतियोगिताको दोस्रो दिन आज सोमबार ३ खेल भएका छन् ।
नवदुर्गा भवानी क्लब चपरगाउँ र एन.पि. सिटी चारनम्बर बीच भएको पहिलो खेलमा एन.पि. सिटी चारनम्बर ३–२ गोल अन्तरले विजयी भएको छ । बुद्ध स्पोर्ट युथ क्लब बनकट्ट र मुहान एकेडमी झुगाँबीच भएको दोस्रो खेलमा मुहान एकाडेमीले पेलान्टी सुटआउटमा जित हात पारेको छ ।
मुहानले ३–२ ले जित निकालेको हो । यस्तै सोमबार भएको अन्तिम अर्थात तेस्रो खेलमा बि.एफ.सी.युवा क्लब बैजलपुर विजयी भएको छ । उसले तिनैया युवा क्लबको पोस्टमा पाँच गोल गर्दै एकतर्फी जित निकालेको होे । तिनैयाले भने एक गोल समेत गर्न सकेन् ।
आयोजकका अनुसार मंगलबार पहिलो खेल न्यू सृजनशिल युवा क्लब नन्दनगर र मंगोलियन युथ क्लबबीच हुने छ भने दोस्रो खेल सोल्टी स्कट,बैरिया र पिपरा एफ.सी.ए बीच हुने छ ।
विजेता र उपविजेताले क्रमश ८ हजार १११ र ४ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष बिमल घिमिरेले जानकारी दिए ।
‘स्वास्थ्यका लागी खेलकुद राष्टका लागी खेलकुद’ भन्ने मूल नाराका साथ भईरहेको उक्त प्रतियोगितामा १३ समूहको सहभागिता रहेको छ ।








