गुल्मी ।
गुल्मीको रेसुंगा विमानस्थलमा आज प्राविधिक उडान परीक्षण भएको छ । रेसुंगा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको ९एन–एबीटी जहाजले आज बिहान ७ बजेर ३९ मिनेटमा अवतरण परीक्षण गरेको हो । निगम र रेसुंगा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले शुक्रबार बिहान परीक्षण उडान गरेको हो ।
२०६३ सालदेखि निर्माणकार्य सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि निर्माण सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाई २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुन्द्री सतहदेखि १५ सय २६ मिटरको उचाइमा रहेको छ ।
यो उडान नियमति व्यावसायिक उडानभन्दा अगाडि गर्नुपर्ने उडान रहेको वायुसेवा सञ्चालक संघका संघ योगराज कँडेलले बताए ।








