गृहपृष्ठ Featured लङजम्पमा कपिलवस्तुका सुदीपको राष्ट्रिय कीर्तिमान

लङजम्पमा कपिलवस्तुका सुदीपको राष्ट्रिय कीर्तिमान

कपिलवस्तु ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेका कपिलवस्तुका सुदीप थारुले १३ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन्। सुदिप कपिलवस्तु नगरपालिका- ९ जगदीशपुर निवासी हुन् । लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्‍यो।

सुदिप सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गर्‍यो।

लुम्बिनी प्रदेशका तुलसीराम थारुले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते।

तुलसीरामले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । उनी पनि कपिलवस्तु नगरपालिका- ९ जगदीशपुर निवासी हुन् ।

सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् । छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए।

मार्शल आर्ट्समा कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ का प्रशान्त पुन मगरले समेत ४२ के जी तौलमा स्वर्ण पदक दिलाए ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताअन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो । जसमा कपिलवस्तुका खेलाडीको बोलबाला रह्यो ।

ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे । छात्राको लङजम्पमा रेसु थारु ((४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए । लङजम्प र ज्याभ्लिन थ्रोका विजेता चारै लुम्बिनीका हुन् ।

सम्बन्धित् समाचार