गृहपृष्ठ Featured होराईजन अंग्रेजी आवासीय माविमा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न

होराईजन अंग्रेजी आवासीय माविमा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले होराईजन कपिलवस्तुकै एक शैक्षिक धरोहरका रुपमा स्थापित हुदैं गएको बताएका छन् । पछिल्लो बर्षहरुमा होराईजनले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै उनले यस्तो बताएका हुन् । सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिका ४ मा अवस्थित होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा भएको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बर्षभरि पढेका जानेका विषयवस्तुलाई विधार्थीले ३ घण्टामा लेखेर व्यक्त गर्नुपर्ने हुँदा समयलाई व्यवस्थापन गर्दै सजक भएर उत्तर लेख्नुपर्ने बताए । विद्यार्थीलाई शुभकामना दिदैं उनले अनुशासन नै विद्यार्थीको गहना भएकाले विद्यालयमा मात्र नभएर सदैव अनुशासनको महत्वलाई बुझ्न आवश्यक रहेको बताए । बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुुख खिम बहादुर जिसीले परिक्षामा उत्तर लेख्दाँ मौलिकता ल्याउन सक्नुपर्ने बताएका छन् ।

परिक्षामा हचुवाका भरमा लेखेर राम्रो अंक नआउने भन्दै उनले प्रश्नलाई राम्रोसंग अध्ययन गरेर मूल मर्मलाई बुझेर मात्र उत्तर लेख्न सुझाव दिए । जिसीले विद्यार्थीलाई शुभकामना दिदैं परिक्षामा लेख्ने क्रममा नआतिएर आफुमा निहित ज्ञान प्रस्फुटन गर्नुपर्ने बताए । सामाजिक संजालमा अनावश्यक रुपमा रुमलिएर सफलता हासिल नहुने भन्दै उनले निश्चित लक्ष्य राखेर अघि बढ्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा राजेन्द्र प्रसाद ध्वजु, विद्यालयका प्रअ बासुदेव घिमिरे लगायतले कार्यक्रममा बोल्दै कक्षा १२ का विद्यार्थीलाई परिक्षाको लागी शुभकामना दिदैं विगतमा जस्तै यस बर्ष पनि सर्वोत्कृष्ट अंक ल्याएर उतिर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

कक्षा ११ को आयोजनामा भएको उक्त कार्यक्रम विद्यालयको सभाहलमा एक भव्य समारोहकाबीच सम्पन्न भएको हो ।

सोही कार्यक्रममा विद्यालयले खेलकुद सप्ताह, अतिरिक्त क्रियाकलाप तथा विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई सम्मानसहित पुरस्कार वितरण गरेको थियो ।

सम्बन्धित् समाचार