लुम्बिनी ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट–२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्टमा जारी सात बुँदे लुम्बिनी घोषणापत्रमा बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्धस्थलमा विस्तार गर्ने, प्रवद्र्धनका लागि साझा कथा विकास गर्नेसमेत उल्लेख गरिएको छ ।
घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुआत बिन्दु र शान्ति गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्धस्थलमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्यमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो । सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्नेसमेत जनाइएको छ ।
मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बताए ।