रूपन्देही ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीले पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
उनलाई आइतबार नै आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिने तयारी भए पनि माओवादीकै प्रदेशसभा सदस्य कृष्णा केसीले विरोध गरेपछि रोकिएको थियो । केसीले माओवादीले भौतिक पूर्वाधार विकासमन्त्री नपाए आफूले आर्थिक मामिला मन्त्रालय पाउनुपर्ने अडान राखेपछि नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई दिन लागिएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी भने रोकिएको छ ।
केसीकै कारण आइतबारको जिम्मेवारी बाँडफाँट पनि अन्तिम समयमा रोकिएको थियो ।
मास्की वैशाख १५ गते बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । मास्की दाङको निर्वाचिन क्षेत्र नं. ३ (२)बाट निर्वाचित हुन् । उनीसँगै नियुक्त भएका उन्मुक्तिका चौधरी र लोसपाका सन्तोषकुमार पाण्डेय भने अझै बिनाविभागीय नै छन् ।
मन्त्रीको जिम्मेवारीको विषयलाई लिएर माओवादी र कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ । बर्दियाको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित केसी यस अघि एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा पनि मन्त्री बनेकी थिइन् ।








