काठमाडौँ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले रद्द भइसकेको मागपत्र ब्युँताएपछि स्टार डोमेन रिसोर्सेस कम्पनीमा गएका तीन सय कामदार अलपत्र परेको खुलेको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपक ढकालले आधिकारिकता र रोजगारी दिन सक्ने हैसियत नभएको भन्दै मागपत्र रद्द गरिदिएका थिए । ढकाल नेपाल फर्केपछि पौडेलले उक्त मागपत्र प्रमाणीकरण गरेका थिए । त्यही मागपत्रअनुसार गत फेब्रुअरी दोस्रो साता मलेसिया पुगेका कामदार कामविहीन बनेका हुन् ।
वैदेशिक रोजगार ऐनले दूतावासमा पेस भएको मागपत्रको प्रमाणीकरण गर्ने अधिकार श्रम काउन्सिलर वा श्रम सहचारीलाई दिएको छ । राजदूत पौडेलले श्रम काउन्सिलर नभएको बेला ६ वटा म्यानपावर कम्पनीमार्फत् कामदार ल्याउन पाउने गरी स्टार डोमेनको मागपत्र आफैं प्रमाणीकरण गरिदिएका थिए ।
त्यति बेला काम दिलाउने सुनिश्चितता नगरी मागपत्र प्रमाणीकरण गरिएको थियो । स्टार डोमेलन बंगलादेशबाट लगेका ५ सय ५० कामदारसमेत अलपत्र छन् ।








