गृहपृष्ठ Featured साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिगमध्ये एक हुनेछ : रोनाल्डो

साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिगमध्ये एक हुनेछ : रोनाल्डो

काठमाडौं ।

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिगमध्येको एक हुने विश्वास व्यक्त गरेका छन् । रोनाल्डो यसै सिजन साउदी प्रो लिगमा अनुबन्ध भएका छन् ।

रोनाल्डोको निर्णायक गोलमा उनको क्लब अल नासरले मंगलबार राति अल शाबबलाई ३–२ ले हराएको थियो । पोर्चुगलका कप्तान रोनाल्डो गत जनवरीमा अल–नासरसँग २०० मिलियन युरोभन्दा बढी मूल्यमा साउदी क्लबसँग अनुबन्ध भएका थिए ।

रोनाल्डोले यसअघि रियल म्याड्रिडबाट स्पेनको ला लिगामा, म्यानचेस्टर युनाइटेडबाट इङ्लिस प्रिमियर लिग र युभेन्टसबाट इटालीको सिरी ‘ए’ खेलेका थिए । उनले विश्वका शीर्ष तीनवटा लिगमा खेलिसकेका छन् ।

३८ वर्षे रोनाल्डोले छोटो समयमै साउदी अरबको लिगमा गुणत्मक सुधार आएको बताएका छन् ।

“हामी धेरै राम्रो छौं । साउदी लिग राम्रो हुँदै छ । अर्को वर्ष अझ राम्रो हुनेछ,’’ रोनाल्डोले मंगलबार साउदी एसएससी च्यानलसँग भने, “मलाई लाग्छ कि यो लिग विस्तारै विश्वकै शीर्ष पाँच लिगहरूमध्ये एक हुनेछ । तर, त्यसका लागि खेलाडी, पूर्वाधार र केही समय चाहिन्छ । मलाई विश्वास छ, यो देशमा अचम्मको सम्भावना छ । यहाँ अद्भूत मानिस छन् । मेरो विचारमा एक दिन लिग विश्वकै उत्कृष्ट हुनेछ ।’’

साउदी क्लबहरूले पछिल्लो समय महत्वकांक्षी योजना अगाडि सारेका छन् । साउदी क्लबले विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसीलाई पनि औपचारिक प्रस्ताव गरेको समाचार बाहिरिएको थियो ।

सम्बन्धित् समाचार