गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : स्थानीय तहको अनुदान काट्ने तयारीमा

लुम्बिनी प्रदेश : स्थानीय तहको अनुदान काट्ने तयारीमा

बुटवल ।

सङ्घीय सरकारले गत वर्षको भन्दा झन्डै ३ अर्ब अनुदान कटौती गरेपछि लुम्बिनी प्रदेशमा बजेटको आकार साँघुरिने भएको छ । प्रदेशले स्थानीय तहलाई दिने विभिन्न अनुदानको रकम पनि कटौती गर्ने तयारी गरेको छ ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । यो वर्ष १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ मात्र अनुदान पठाउने भएको छ । सङ्घीय सरकारबाट ३ अर्ब ९ करोड २२ लाख रुपैयाँ कम बजेट पठाउने भएपछि प्रदेशमा  व्यवस्थापन कसरी गर्ने भनेर सरकारले रणनीति बनाउँदै छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्रालयमा प्रवक्ता एवं उपसचिव सुरेन्द्र पाण्डेयले सङ्घले अनुदान कटौती गरेपछि कसरी त्यसको पूर्ति गर्न सकिन्छ भन्ने विषयमा विभिन्न उपायहरू खोज्नका लागि सरोकारवालसँग छलफल चलाएको बताए ।

उनले संविधानले प्रदेशलाई कर असुलीमा कम अधिकार दिए पनि भएको अधिकार प्रयोग गर्दे स्रोत परिचालन गर्ने उपायहरू खोजिरहेको खुलाए ।

लुम्बिनी प्रदेश प्रदेशमा गत वर्ष सङ्घले अनुदानमध्ये समानीकरण अनुदानमा ८ अर्ब ५४ करोड  दिएको थियो । अहिले ८ अर्ब १४ करोड ८३ लाख बनाएको छ । सशर्त अनुदानतर्फ ८ अर्ब ७१ दिएकोमा अहिले ५ अर्ब ८३  करोड ५९लाख रहेको छ ।

यस्तै, समपूरक अनुदान गत वर्ष ७३ करोड ९० लाख रहेको थियो, अहिले ८४ करोड रहेको छ । विशेष अनुदानतर्फ  गत वर्ष ८८ करोड  ३५ लाख प्रदान गरेको थियो, अहिले ५६ करोड छुट्याएको छ  ।

अहिले खास गरी प्रदेशको सशर्त अनुदानमा धेरै रकम घटाइएको छ । लुम्बिनी प्रदेशको अर्थ मन्त्रालयले यस अघि नै प्रदेशका मन्त्रालयहरू गत वर्ष भन्दा कम्तीमा २० प्रतिशत कम गरेर सिलिङ तयार गर्नको लागि निर्देशन दिएको थियो ।

सम्बन्धित् समाचार