आइतबार जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सिता गौतम रहेका छन् । यस्तै अर्घाखाँची पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरमपानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल छन। गम्भीर घाइते चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै अर्घाखाँची जिल्ला पाणिनी–१, का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी ५ वर्षकी पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार, गुल्मी जिल्ला रुरु गाउँपालिका बलेटक्सारका नौ वर्षका सार्थक ज्ञवाली पनि घाइते छ्न्। उनीहरुको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
यस्तै अन्य घाइतेहरूमा पाणिनी–१, अर्घाखाँचीका ४४ वर्षका विजय पोखरेल, सोही स्थानका ४० वर्षका हरि गौतम रहेका छन् । दुई जनाको उपचार बुटवल चौराहा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
अत्याधिक लोडका कारण जिप दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ । जिपमा खाध्यान्न सामग्रीसमेत थियो ।जिप माथिल्लो सडकदेखि ८० मीटर तल सडकमा खसेको थियो ।