रुपन्देही ।
इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालय समक्ष सिफारिस गरिएको हो ।
केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको छ ।
डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । शक्तिको आडमा बुटवलमा गलत धन्दा चलाइरहेको आरोप लाग्दै आएका केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका हुन् । पक्राउ परे लगत्तै उनी निलम्बनमा परेका थिए ।
बुटवलका सुन व्यवसायी किसन विकबाट मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाईसमेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेका थिए ।
डीएसपी केसीलाई भैरहवाको बुद्ध कुरियर एण्ड कार्गो सर्भिसबाट ३ लाख रकम असुलीको आरोप पनि लागेको थियो । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित अवैध कलसेन्टरमा छापा मारेर १ सय ५० भन्दा बढी कर्मचारी पक्राउ गरिएको थियो ।
एक वर्ष अघिदेखि खुलेको कलसेन्टरमा १५ लाख रुपैयाँयाको बार्गेनिङ भएको र अन्तिममा रकममा नमिलेपछि छापा मारिएको संचालकहरुको दाबी थियो । उक्त घटनामा घुमुवा वरिष्ठ सई घिमिरे पनि अनुसन्धानमा तानिएका थिए ।
साउन १ गते तिलोत्तमा नगरपालिकाको कार्यपालिकाको बैठकमा जनप्रतिनिधिबीच विवाद हुँदा सुरक्षा दिन पुगेका डीएसपी केसीले वडा नं. ४ का वडा अध्यक्ष हरीबहादुर क्षेत्रीलाई धकेलेर पौडीपोखरीमा खसालेका थिए । उक्त विषयलाई लिएर उनको चर्को आलोचनासमेत भएको थियो ।







