रुपन्देही ।
लुम्बिनी प्रदेशमा लम्पीस्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपैयाँको नोक्सान व्यहोरेका छन् । अहिले पनि सबै ठाउँमा पर्याप्त खोप पुग्न नसक्दा किसानहरू समस्यामा परेका छन् । धान रोप्ने समयमा गोरुमा आएको यो समस्याले धेरै ठाउँका किसानहरूलाई समस्या परेको छ ।
सरकारले प्रदेशमा रहेका सबै जिल्लाका स्वस्थ्य पशुलाई लम्पीस्किन विरुद्धको खोप लगाउन सुरु गरे पनि त्यो पर्याप्त नभएको विषय कृषि तथा पशु क्षेत्रमा काम गर्नेहरू जनाएका छन् ।
डा. आलमका अनुसार पशुको मृत्यु उपचार खर्च, दूध उत्पादनमा कमी आएको कारणले एक करोड रुपैयाँको भन्दा धेरैको नोक्सान भएको अनुमान छ । तर, यसबारे यकिन नोक्सानको मूल्य अझै आउन सकेको छैन । विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र तथा पशु कार्यालयबाट यसको यथार्थ तथ्यांक आउन सकेको छैन ।
प्रदेशमा सबै जिल्लामा साउन ४ देखि किसानको गोठ गोठमा पुगेर खोप लगाउन सुरु गरिएको प्रदेश निर्देशनालयले जनाएको छ । यसअघि केही पालिकाहरू आफैले व्यवस्थापन गरेर खोप लगाए पनि त्यो पर्याप्त हुन सकेको छैन ।
निर्देशक डा. आलमले अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७ सय २१ खोप लगाइएको जानकारी दिए ।