तौलिहवा ।
बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्त्विक महत्त्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन्। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो।
शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको यो क्षेत्रमा अनियन्त्रित कटान शुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष लगातार नदीमा विलय हुँदै गएको छ। सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेका छन्।
प्राचीन समयमा त्यस ठाउँमा पम्पापुर नामक सुन्दर नगर रहेको स्थानीय किंवदन्ती छ। त्यस बखत हैजाको प्रकोपबाट धेरै जना मासिए भने अन्यले नगर छोडेर अन्यत्र भागेको पनि स्थानीयको विश्वास छ। कसैकसैले नगरलाई दानव नदीको बाढीले पुरेको किंवदन्ती पनि सुनाउँछन्।
‘२०६८ सालमा नदीछेउमा पाँच फिट जति अग्लो रिङ भेटिएको थियो’, स्थानीय सीताराम मल्लाहले भने, ‘हामीले विकास कोषलाई भन्यौँ तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन। त्यो पनि नदीले बगाइसक्यो।’
नदी कटान हुनुअघि धेरै पुराना घर, माटाका भाँडा, बाकस, सुनचाँदी, मन्दिर, इनार भेटिन्थे। कुनै कुनै इनारमा मानिसका कङ्काल देखिएको स्थानीयवासी बताउँछन्। ‘यहाँ ३०, ४० वटा इनार थिए’, स्थानीयवासी सन्तोष गुप्ताले भने, ‘दशकअघि उचाल्न नै नसक्ने एउटा ठुलो बाकस भेटिएको थियो। त्यो पनि बर्खे भेलमा बग्यो।’
नदी कटानले जमिनमुनिबाट देखिने माटोका भाँडालगायतका वस्तु हर्पण सभ्यताको समकालीन भएको बताइन्छ। लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले पुरातत्वशास्त्री एसबी देवले पनि अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकालेको बताए।