गृहपृष्ठ Featured बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु

प्रकाशित मिति:

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै उक्त अभियान शुभारम्भ गरेका छन्।

उनले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्नका लागि चालू आर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, हरियाली बनाउने र भित्री सडकलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए।

उपमहानगरप्रमुख पाण्डेयले बुटवल बजार क्षेत्रलाई उपयुक्त पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको जानकारी गराए।

उनले हरियाली र उज्यालो सहर बनाउन आर्थिक वर्ष ०८०/८१ का लागि पर्याप्त बजेट विनियोजन गरिएको र यसअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यका लागि रु एक करोड ९० लाख र एक घर तीन रुख कार्यक्रमका लागि रु १२ लाख छुट्याइएको बताए।

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली एक हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका तीन/तीन सय बिरुवा रोपिनेछ। त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका एक सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

यस्तै, यही २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा बिरुवा संरक्षण, सौन्दर्यीकरण गर्नाका साथै  बाँकी क्षेत्रमा पनि उक्त अभियानलाई निरन्तरता दिइने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

सम्बन्धित् समाचार