सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा २ दिने कर सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा उक्त तालिम मंगलबार सम्पन्न भएको हो ।
उक्त तालिमको समापन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री एवम् प्रदेश सभा सदस्य विष्णु पन्थीले वर्तमान अवस्थामा सर्टिफिकेट दिने क्याम्पसहरु उल्लेख्य मात्रमा भएता पनि सिपयुक्त जनशक्तिको अभाव रहेको बताए । दक्ष सिपयुक्त जनशक्ति उत्पादनमा ध्यान जान नसकेको उनको भनाई छ ।

उनले आगामी दिनमा उद्योग व्यवसायका कारोबारहरुलाई व्यवस्थित र चुस्त राख्न यस्ता तालिमले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मुलुकको प्रचलित कानुनबारे सबै जानकार हुदैं राजस्व तिरेमा कसैसंग पनि नडराउनुपर्ने उनले बताए ।
नेपाल बन पैदावार उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्षमा रुक बहादुर भुसालले व्यवसाय संचालन गर्ने व्यक्तिसंग सिपसंगै करको दायराबारे ज्ञान हुनुपर्ने बताए । अन्यथा व्यवसाय जोखिममा पर्ने र प्लायन हुनुपर्ने स्थिति आउने उनको भनाई छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यक्तिसंग सर्टिफिकेट भएर पनि सिप नभएको खण्डमा त्यसको कुनै अर्थ नहुने बताए । उनले जीवनको सबैभन्दा ठूलो पक्ष ज्ञान र सिप भएको बताए ।
योग्यतासंगै सिप भएमा रोजगारीका थुप्रै अवसरहरु प्राप्त हुने बताउँदै उनले भने, ‘हामीसंग सर्टिफिकेट छ, सिप छैन् । जसका कारणले रोजगारीका सिलसिलामा असफलता व्यवहोर्नुपर्ने हुन्छ ।’
अध्यक्ष घिमिरेले व्यवसायीहरुलाई करको दायरामा ल्याउन तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । व्यावसायीले भोगेका कर सम्बन्धी विभिन्न समस्याहरुको निदानका लागी तालिम फलदायी भएको उनको दाबी छ ।
अब छिट्टै संघले फेरी खाद्य सम्बन्धि तालिम संचालन गर्ने तयारी गरेको उनले जानकारी दिए । अध्यक्ष घिमिरेले संघले यस क्षेत्रका उद्योगी, व्यवसायीलाई लक्षित गरि विगतदेखि नै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता जनाए ।

७० जना भन्दा बढीको सहभागिता रहेको उक्त तालिमको समापन सत्रको कार्यक्रम कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले संचालन गरेका थिए ।








