लुम्बिनी ।
बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्र ‘विहार’) को निर्माण सुरु भएको छ। अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघले भारतीय एक अर्ब रुपैयाँ लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी भारतीय बौद्ध सस्कृती र सम्पदा केन्द्रको निर्माण सुरु गरीएको हो।
गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा भारतीय विहारको शिलान्यास गरेका थिए।
आइतबार विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षुभिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ। भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)ले अन्तर्राष्ट्रिय स्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरीमालाई थप उचाइमा पुर्याउने बताए। उनले नेपाल र भारविचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सिमित नभई भगवान गौतमबुद्धका कारण हजारौं वर्षअघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको बताए।
बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताए। उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीमा पर्यटकहरूको आवागमन बृद्धि भएको बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिती हुनु निकै राम्रो भएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रबर्द्धन हुने बताए।








