सुस्त गतिमा काम भइरहेको गुनासो आएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद फेरि १ वर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको हो ।
आयोेजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनकाअनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद ३ सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ ।
‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ’ उनले भने, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।’
पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए ।








