वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले शुद्धोधनमा विकासको गतिले तीब्रता पाउने दाबी गरेका छन् । शुक्रबार ८ औं गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले गाउँपालिका विस्तृत योजनाका साथ अघि बढेको बताउँदै भने, ‘अब शुद्धोधनमा विकासको गतिले तीब्रता पाउँछ । विकासका कामलाई सुरुवात गरि टुङ्गोमा पुर्याउँछु ।’

विगतका बर्षहरुमा विकासका कामलाई ध्यान दिन नसकेको बताउँदै उनले विकासमार्फत शुद्धोधनको स्वरुपनै फेर्ने दाबी गरे । ‘जुन गतिका साथ विकासका काम अगाडि बढाउनुपर्ने हो विगतमा त्यो गतिले हुन सकेन् । विकास निर्माणका काम ढिलासुस्ती हुँदा प्रतिफल समेत ढिलो प्राप्त हुन्छ,’ उनले भने ।
लोकप्रिय र वितरणमुखी भन्दा दिगो र परिणाममुखी काम गर्ने बताउँदै उनले पालिकालाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले विकासका काममा सबै सरोकारवालाहरुलाई मिलाउँदै अघि बढ्ने आवश्यकता औल्याए । उनले विकासमा जन सहभागितालाई आत्मसात गर्न जनप्रतिनिधि अघि बढुनुपर्ने बताए ।
उनले विकासका काममा ढिलाइ हुँदा प्रत्यक्ष र परोक्षरुपमा ठूलो क्षति पुगेको बताए ।
सभा इश्वोरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।







