कपिलवस्तुका छुट्टा छुट्टै दुई स्थानबाट लागु औषध र अवैध औषधीसहित ४ जना पक्राउ परेका छन्। ब्राउन सुगर र अवैध औषधी सहित शद्धोधन गाउँपालिका– १ सोहसामा २ जना र बाणगंगा नगरपालिका- ११ ओदारीमा २ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए।
प्रहरीले चेकजाँच गर्ने क्रममा सोहसामा रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर(२ जोगडाका १८ वर्षीय विष्णु गौढलाई खानतलासी गर्ने क्रममा प्लाष्टिकमा लुकाइछिपाई राखेको अवैध औषधी सहित उनी पक्राउ परेका थिए।
गौढको साथबाट स्पास्मो १० पत्तामा ७६ क्याप्सुल र लागु औषध नाइट्राभेट १ पत्ता १४ ट्याब्लेट बरामद भएको थियो। सोधपुछ गर्दा उनले लागु औषध जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वार्ड नं २ सानो नन्दनगर बस्ने वर्ष ५० को रामनाथ अहिरबाट खरिद गरेको बताएका थिए। रामनाथ अहिरको घरमा प्रहरीले छापा मार्दा घरमा उनी सुत्ने कोठा भित्र स्टिलको बाकसमा लुकाइछिपाई राखेको अवैध औषधी बरामद भएको थियो। उनको घरबाट स्पास्मो ९३२ क्याप्सुल, लागु औषध नाईट्राभेट १८ ट्याब्लेट, एसकोडिल १०० एमएलको १ सिसी र नगद रु ४४ हजार ६० रुपैयाँ प्रहरीले बरामद गर्यो।
त्यस्तै कपिलवस्तु बाणगंगा नगरपालिका ११ ओदारी स्थित चार नम्बर तौलिहवा सडक खण्डमा मोटरसाइकलमा सवार दुई जना खैरो हेरोइन सहित पक्राउ परेका छन्।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चार नम्बरबाट तौलिहवा तर्फ जाँदै गरेको लु. ८८ प.३७४६ नं.को मोटरसाइकल चालक रुपन्देही बुटवल उप-महानगरपालिका-३ का २६ वर्षीय प्रताव गुरुङको साथबाट १६० मिली ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको पदार्थ फेला पारीको थियो।
मोटरसाइकल पछाडि सवार वडा नम्बर १३ का ३९ वर्षीय साना बाबु सिजाली मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए।