गृहपृष्ठ Featured बुटवलको आधुनिक पशु बधशाला असोजदेखि सञ्चालनमा आउने

बुटवलको आधुनिक पशु बधशाला असोजदेखि सञ्चालनमा आउने

प्रकाशित मिति:

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल-१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो।

नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार सात सय १० रूपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ। पाँच वर्षका लागि गरिएको सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन, २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन, २०५५, फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताए।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिक रूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने उल्लेख छ।

सम्बन्धित् समाचार