वैखरी अनलाइन, बाणगंगा ।
आज बड्की आइतबारी पर्व मनाइदैँछ । थारु समुदायमा मनाइने यस पर्वका अवसरमा कपिलवस्तुका ६ पालिकामा बिदा समेत दिइएको छ ।
अवसरमा जिल्लाको कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, बाणगङ्गा नगरपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर, यशोधरा गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । यस पर्वमा मिठामिठा परिकार खानुका साथैँ परम्परागत रुपमा पुजा गरी मनाइने गरिएको छ ।
थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् ।
हरेक वर्ष भदौ महीनाको पहिलो आइतवारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतवारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतवारलाई रैब भनिन्छ ।
आइतवारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् । यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ ।
यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।








