बुटवल ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेश पुनले पार्टीले चलाएको तीन महिने अभियानमा जनताले आफूहरुलाई सच्चिन सुझाव दिएको बताएका छन् ।
अभियानका क्रममा रुपन्देही खटिएका पुनले एक महिनाको अवधिमा विभिन्न कार्यक्रम गर्दा जनताबाट पार्टीलाई सच्चिँदै पार्टी र जनताबिचको दुरी कम गर्न सुझाव आएको बताए । उनले जनताको एजेण्डा बोल्न र बोक्नका लागि पनि आफूहरुलाई जनस्तरबाट सुझाव आएको चर्चा गरे ।
नेकपा माओवादी केन्द्र रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले जनतासँग जोडिने गरी पार्टीले नीति तथा कार्यक्रम ल्याउनु पर्ने धारणा जनस्तरबाट आएको प्रस्ट पारे ।
उनले जनताबाट आएका गम्भीर सुझावलाई आफूहरुले सम्बोधन गर्ने गरी थप कार्यक्रम ल्याउने पनि बताए ।
उनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि संविधानको मर्मअनुसार काम गर्न नसक्दा नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको गुनासो व्याप्त रहेको बताए ।