लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ। बौद्ध दर्शन र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यसहित शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एण्ड रोड इनिसिएटिभको संयुक्त आयोजनामा पहिलो बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १०औं वार्षिकोत्सवको उद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन्।
बिआरआईको १०औं बार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना समेत गरिएको छ। चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो। क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कार्यहरुले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए।








