काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी ट्वान्टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् । ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे ।
एउटा फाइनल हेरेर मात्र नहुने भन्दै उनले समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको बताए । देसाईले ब्याटिङमा राम्रो गरे पनि बलिङतर्फ पावर प्लेमा केही गल्ती भएको बताए ।
ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उनले उल्लेख गरे । तर, आज उनले दबाब राम्रोसँग झेल्न नसकेको बताए । ओमानका बलर बिलाल खानले राम्रो बलिङ गर्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।
विवेक यादवजस्तो खेलाडी अगाडि आउनु सुखद् पक्ष रहेको प्रशिक्षक देसाईको बुझाइ छ । स-साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि उनले बताए ।