गृहपृष्ठ Featured तिहारको रमझम सहरदेखि गाउँघरसम्म : भूकम्प पीडितको तिहार पालमा

तिहारको रमझम सहरदेखि गाउँघरसम्म : भूकम्प पीडितको तिहार पालमा

प्रकाशित मिति:

सुर्खेत ।

तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ ।

चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन् ।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ-धौ छ । यद्यपि, पालमुनि भए पनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने दिएका छन् ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो । यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् ।

विस्थापित सबैको बास भनेकै पालमुनि हो । दसैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गौलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे ।

जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बीर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ ।

तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोखे ।

सम्बन्धित् समाचार