बुटवल ।
लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार र समितिको नेतृत्व चयन एकैसाथ गर्ने योजना बनाएर गतसाता सरकार विस्तार गरेका थिए ।
सरकार विस्तारसँगै पुष १६ गते समितिको सभापति चयनका लागि उम्मेदवारको मनोनयन र पुष १७ गते मंगलबार निर्वाचन गर्ने गरी पुष २ गते बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको थियो ।
तर, प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले आइतवार सुचना जारी गर्दै विशेष कारण निर्वाचनका सम्पूर्ण प्रकृया स्थगित भएको जनाएका हुन् । ‘मिति २०८० साल पौष महिनाको १७ गते मंगलबारका दिन हुने गरी पूर्व सूचना अुनसार निर्धारित विषयगत समितिको सभापतिको निर्वाचन माननीय सभामुख ज्यूको निर्देशानुसार अर्को सुचना प्रकाशित नभएसम्मको लागि विशेष कारणबस स्थगित भएको व्यहोरा माननीय सदस्य ज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
सभामुख तुलाराम घर्ती मगरले असार ३० गते प्रदेश सभामा रहेका ६ वटा विषयगत समितिमा सदस्य मनोनयन गरेका थिए । सदस्य चयन भएपनि सभापति अभावमा मिनि-सांसदको रुपमा चिनिने विषयगत समितिहरुले विधेयकहरुमाथि छलफल गर्न सकेका छैनन् । केही समितिका बैठक जेष्ठ सदस्यको अध्यक्षमा बसेका थिए ।
अहिलेसम्म ६ वटा विषयगत समितिमध्ये तीनवटा समितिको मात्र बैठक बसेको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने उल्लेख छ ।








