रुपन्देही ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चौपाया छाडा छोड्नेलाई जरिवाना गर्ने भएको छ । स्थानीयले छाडा चौपायाले दुःख दिन थालेको गुनासो पटक पटक गरेपछि भैरहवामा छाडा गाइगोरु नियन्त्रण अभियान थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गतवर्ष पनि अभियानै चलाएर छाडा गाइगोरुको व्यवस्थापन गरेको थियो । गतवर्ष यसरी नै १ सय ७० वटा छाडा गाइगोरुको व्यवस्थापन गरिएको थियो ।
नगरपालिकाले त्यसरी चौपायालाई छाडा छोड्ने धनीहरुलाई जरिवाना गर्न थालेपछि स्थानीयलाई केही राहत हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले सहरमा छाडा गाइगोरुले आतंकित बनाउन थालेपछि नियन्त्रणका लागि अभियानै चलाएको हो ।
नगरपालिकाको छाडा चौपाया व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले छाडा गाइगोरुले नगरमा पुनः समस्या ल्याउन थालेपछि नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले अभियान सञ्चालन गरिरहेको बताए ।








