सेल्टा भिगो कापा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनल खेलमा भ्यालेन्सियालाई ३–१ गोलले हराउँदै सेल्टा भिगो प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो ।
खेल सुरु भएको १३औँ मिनेटमै लुका डी ला टोरेले सेल्टा भिगोका लागि पहिलो गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि नै अनासतास्लोस डुभिकसले पेनाल्टीमार्फत गोल गर्दै सेल्टा भिगोलाई २–० को अग्रता दिलाएका थिए ।
निर्धारित समयको २९औँ मिनेटमा भ्यालेन्सियाका पेपेलुले पेनाल्टीमार्फत जवाफी गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि डुभिकसले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै सेल्टालाई ३–१ को जित दिलाएका थिए । डुभिकसले जारी सिजनको कोपा डेल रेमा सर्वाधिक ६ गोल गरिसकेका छन् ।
यसैगरी रियल सोसिएडाड पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रियल सोसिएडाडले प्रिक्वार्टरफाइनल खेलमा ओसासुनालाई २–० गोलले हराएको हो । गिरोना पनि रायो भालेकानोलाई ३–१ गोलले पाखा लगाउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो । एथलेटिक बिल्बाओ, मलोर्का र सेभिया भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।