गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको एक गाउँ : जहाँ पुग्यो ५२ वर्षपछि बिजुली

कपिलवस्तुको एक गाउँ : जहाँ पुग्यो ५२ वर्षपछि बिजुली

मनोज पौडेल

कपिलवस्तु । 

९ रुपैयाँ लिएर सामान किन्न पुग्दा ८ रुपैयाँमै एक डोको सामान पाएपछि उनी खुसी हुँदै घर फर्किन्थे । तर, एक डोको सामान लैजान हिंड्दै जाँदाको दुःखकष्टले उनको खुसी पीडामा बदलिन्थ्यो । वर्षको एक पटक महिनादिन हिंडेर रासनपानी बोक्नु पर्थ्यो । कहिले कोइलाबास, कहिले पाल्पा त कहिले बुटवलसम्म कपडा, नुन–तेल र घरगर्जो चलाउने सामान किन्न जानु पर्थ्यो । पहाडमा केही पाइँदैनथ्यो । आवत-जावत गर्दा निकै दुःखकष्ट सहनु पर्थ्यो ।

पहाडमा खानलाउन समस्या भएपछि रुकुमको हुकामबाट ७८ वर्षीय बुद्धिमान घर्ती कपिलवस्तुको शिवराज नगरपालिका चोरखोला आएको बताए । ३५ वर्षको उमेरमा २०३७ सालतिर यहाँ आएका उनी त्यसयता यहीं घर बनाएर बसेका छन् । तर, यहाँ आएको ४३ वर्षपछि बिजुली बाल्न पाउँदा खुसी मिलेको उनले बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१, चोरखोलामा २०२८ सालदेखि नै बस्ती बसेको थियो । पुरानो बस्तीमा गत साता बिजुली बलेपछि स्थानीयको अनुहारमा खुसीयाली छाएको छ । टुकी बालेर जीवनयापन गर्दै आएका उनीहरूको गाउँमा मानिसहरू बस्न थालेको ५२ वर्षपछि बिजुली बत्ती पुगेको हो ।

राजमार्गमै सटेको चोरखोलामा अहिले ४५ घरको बस्ती छ । छरिएर रहेको बस्तीमा बिजुली पुगेपछि उनीहरूको दैनिकी फेरिएको छ । बिजुली पुगेको एक सातामा २६ घरले बिजुली जोडिसकेका छन् । अन्यले पनि निवेदन दिइसके । एक सातामा सबै घरमा जोडिन्छ । गाउँका पढ्ने बालबालिका घरमै पढ्न पाएका छन् । राति पनि गाउँघर उज्यालो भएको छ । मोबाइल चार्ज गर्न दिनको एक पटक ४ किमि पूर्व बनकसबासा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । ओहोरदोहोर गर्न ६० रुपैयाँ भाडा तिर्नु पर्ने बाध्यता पनि हटेको छ । टेलिभिजन हेर्न पाएका छन् । रेडियो सुन्न पाएका छन् । मोबाइलमा कुराकानी गर्न पाएका छन् । काठ–दाउराले बनेका र फुसले छाएका घरमा आधुनिक वायरिङ गरेर कोठाकोठामा बत्ती जडान गरिएको छ ।

बनकसबासाबाट करिब ४ किमि पश्चिम रहेको गाउँसम्म ३ सय ४ फलामे पोल गाडेर बिजुली लगिएको हो । विद्युत् प्राधिकरणको करिब ६० लाख लगतमा थ्री फेजको लाइन एचडी कभर कन्डक्ट तार जोडेर लाइन दिइएको छ । बाटोभरि रुख भएकाले नांगो तार नराखेर प्लास्टिकले बेरिएको अत्याधुनिक तार जडान गरिएको हो । ११ हजार केभीए क्षमताको तारमा अहिले ४ सय ४० भोल्ट सप्लाइ गरेर बिजुली दिइएको हो । पोल छेउछाउका रुख व्यवस्थापन गरेर पूर्ण क्षमताको पावर सप्लाई गर्ने तयारी भइरहेको विद्युत् प्राधिकरण कृष्णनगरका प्रमुख सुशील पौडेलले बताए । सबै पोल गाउँलेले जनश्रमदान गरेर गाडेका थिए । चोरखोलामा बिजुली पुगेसँगै जिल्लाका सबै गाउँ–सहरमा बिजुली पुगेको जिल्ला बन्न पुगेको उनले बताए ।

‘४२ वर्षदेखि टुकी बाल्न थालेको थिएँ,’ चोरखोलाका दिलप्रकाश घर्तीमगरले भने, ‘अहिले बिजुली बाल्न पाउँदा अचम्म लागेको छ ।’ सानो सिसीलाई कपडा राखेर टुकी बालेर गुजारा गर्दै आएका उनले अहिले पनि त्यो टुकी राखेका छन् । त्यहाँ पुग्नेलाई त्यही देखाउँदै टुकी बाल्दाको दुःखकष्ट भन्छन् उनी । ‘टुकी बाल्दा श्वासप्रश्वासको समस्या धेरै पटक भयो,’ ३३ वर्षको उमेरमा यहाँ आएका उनले भने, ‘यसले दुःख बिमार जन्मायो । रोगी बनायो ।’ ७५ वर्षको उमेरमा बिजुली बाल्न पाएको उनले सुनाए । बिजुली बलेपछि उनका शिवपुरस्थित कक्षा १२ मा पढ्ने छोरा शक्ति घर्तीमगर निकै खुसी बनेका छन् । ‘राति टुकीमा पढ्दा निकै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘नाकभरि धूवाँ भरिएर असहज हुन्थ्यो ।’ जति पढे पनि बुझ्न गाह्रो हुन्थ्यो । अहिले भने राति राम्ररी पढ्न पाउँदा निकै आनन्दित भएको उनले बताए । पढाइ पनि राम्रो हुँदै गएको उनले थपे । गाउँबाट पढ्न जाने यहाँका २४ बालबालिकालाई यसले सहज भएको छ ।

४८ वर्षको उमेर पुग्दा बल्ल बिजुलीबत्ती बाल्न पाउँदा निकै खुसी लागेको स्थानीय कृष्णबहादुर विकले सुनाए । ‘बुबा रामबहादुर गुल्मीको अर्घाबाट २०३० तिर यहाँ आएदेखि अँध्यारोमा बसेका थियौं,’ उनले भने, ‘अहिले निकै आनन्द मानेका छौं ।’ स्थानीय अगुवा मानबहादुर विकको प्रयासले यो सब सम्भव भएको उनले बताए । ‘जिल्लादेखि काठमाडौंसम्म धाए । पोल गाड्दा उनलाई वन मुद्दा पनि लाग्यो,’ उनले भने, ‘तर समाजको काम हो, हरेस खानु हुँदैन भनेर काम गरिरहे र सफल पनि भए ।’ ५० वर्षदेखिको सपना पूरा हुँदा निकै गौरवान्वित भएको स्थानीय होमी विकले बताइन् । ‘बिजुली नहुँदा घरधन्दा गर्ने महिला नै बढी प्रभावित हुने हो,’ उनले भनिन्, ‘अहिले बिजुली आइसकेपछि रातमा काम गर्न सहज भएको छ ।’

राजमार्गसँग सटेर घर हुँदा मेचीदेखि महाकालीसम्म जहाँ जतिखेर पनि आउजाउ गर्न यातायातको सुविधा छ । तर, आधारभूत खानेपानी र बिजुली नहुँदा समस्या झेल्दै आउनु परेको स्थानीय मानबहादुर विकले बताए ।

बस्तीदेखि धेरै पर र विकट भौगोलिक अवस्था हुँदा राज्यको नजरमा परेको थिएन । यसले आधारभूत आवश्यकताका कुरा पनि नहुँदा दैनिकी कष्टकर बनेको थियो । केही महिनाअघि थोरै भए पनि खानेपानीको समस्या समाधान भएको छ । नभए उनीहरू बस्तीदेखि ५ सय मिटर तल रहेको सुरही खोलाको असुरक्षित पानी पिउँदै बसेका थिए । यसले गाउँले वर्षमा दुई–चार पटक बिरामी हुन्थे । गाउँको उत्तर रहेको मामाखोलादेखिमाथिको डाँडामा ट्याङ्की बनाएर मूलको पानी सप्लाई गरिएको छ । करिब एक किमिमाथिबाट गाउँमा पानी ल्याइएको छ । पूर्व सांसद अभिषेकप्रताप शाहको ७८ हजार र गाउँलेको ३ लाख जनश्रमदानमा गाउँभरि पानी वितरण गरिएको छ । पानीपछि बिजुली आएको हो ।

पश्चिमको क्षेत्रको मुख्य बजार चन्द्रौटादेखि करिब १७ किमि पश्चिम चोरखोलामा बस्ती छ । यहाँ रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मीबाट आएकाको बसोबास छ ।

सम्बन्धित् समाचार